काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष आगामी फागुण ३ गते पुरा हुँदैछ । सरकारको कामको मुल्यांकन तथा समिक्षा सुरु हुन थालेका छन् । सत्तारुढ दल दल नेकपाभित्रै सरकारको एक वर्षे कार्यकाल त्यति सन्तोषजनक नभएको आवाज उठ्न थालेको छ ।
दुई तिहाईको बलियो सरकार हुँदापनि जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना पनि भैरहेको छ । तर, यो एक वर्षमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम ऐन तथा कानुन बनाउनुपर्ने थियो । त्यसमा सरकारले समय खर्चिनु परेकोले सरकारको प्रस्तुति अलिक आक्रामक हुन नसकेको भन्ने आवाजपनि नेकपाभित्र उठेकै छ ।
ओली सरकारको एक वर्ष कुटनीतिक क्षेत्रमा कति सफल ? कति असफल ? भन्नेबारे पनि अहिले चर्चा तथा परिचर्चा सुरु भएको छ। प्रधानमन्त्री भएपछि ओलीले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीले नयाँ समझदारी कायम गरे ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास र वीरगन्जस्थित नेपाल–भारत सीमामा बनाइएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन गरेका थिए । अहिले यो आईसिपी सञ्चालनमा छ । त्यस्तै ओली र भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट ‘स्वीच’ थिचेर पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । यो पनि सरकारको लागि ठूलो उपलब्धि मानिएको छ ।
रेलमार्ग र पारबहनमा सहकार्य गर्ने सहमती
नेपाल र भारतबीच रेलमार्ग र पारवहनमा सहकार्य गर्ने सहमति भएको थियो । भ्रमणको क्रममा भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्नुपर्ने उल्लेख गरेका थिए । उनले दुई देशीय सम्बन्ध २१ औं शताब्दीको यर्थाथताको आधारमा रहनुपर्ने पनि बताएका थिए ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने उल्लेख गर्दै नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको जनाएका थिए । मोदी स्वयमले नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुने बताएका थिए ।
भारत भ्रमणलगत्तै प्रधानमन्त्री ओलीले चीन भ्रमण गरेका थिए । चीन भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भनेको केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति भएको थियो । तर, यो भ्रमणमा विगतको ट्रान्जिट ट्रान्सपोर्ट सम्झौताको प्राटोकोलमा भने ठोस प्रगति हुन सकेको थिएन ।
चीन भ्रमणपछि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए । भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए । अमेरिकामा रहँदा ओलीले क्यानडा र बेलायतका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । अमेरिका भ्रमणपछि ओली डावोस फोममा भाग लिन स्वीट्जरल्याण्ड गए । त्यहाँ पनि उनले उच्चस्तरीय भेटवार्ता गरे ।
नेपालमा यो एक वर्षमा विदेशी लगानी भने आउन सकेको छैन । प्रधानमन्त्री ओलीले विदेशीहरुलाई कन्भिन्स गर्न नसकेको हो वा नेपालमा लगानीको वातावरण नबनेको हो भन्ने कुरा अहिलेपनि चर्चा कै विषय छ ।