काठमाडौं १ फागुन । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संसद्बीच केही बुँदामा सहमति भएको छ। रकम अभावमा संघीय कार्यालयमा कामकाज पुनः बन्द हुने अवस्था देखिएपछि यस्तो सहमति भएको हो।
सोमबार रात भएको उक्त सम्झौताअन्तर्गत सिमानामा पर्खाल बनाउन १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजन गरिने भएको छ। संसदीय सहयोगीका अनुसार ट्रम्प कुनै पनि हालतमा पर्खाल बनाउनबाट पछि नहट्ने दृढ भएपछि विपक्षी सांसद सहमत भएका हुन्।
यसअघि ३५ दिनसम्म रकम अभावले अमेरिकी संघीय निकायहरू बन्द भएका थिए। अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ।
डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अमेरिकी संघीय निकाय खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो।
पर्खालका लागि राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर छुट्याउनुपर्ने माग गर्दै आएका थिए। त्यसको अनुपातमा उक्त रकम निकै कम हो। विनियोजन गरिएको रकमबाट ५५ माइल लामो पर्खाल लगाउन पुग्नेछ।
उक्त पर्खाल स्टिलको हुने बताइएको छ। ट्रम्पले भने कंक्रिटको पर्खाल लगाइने बताउँदै आएका थिए। ह्वाइट हाउसले डिसेम्बरमा २१५ माइल लामो पर्खाल बनाउने बताउँदै आएको थियो। सोमवार छुट्याइएको रकमबाट टेक्ससको रियो ग्रान्ड उपत्यकामा पर्खाल बनाइनेछ।
रिपब्लिकन सिनेटनर रिचर्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन्। उनले भने, ‘हामीबीच सैद्धान्तिक सहमति भएको छ।’ सहमतिका बुँदाहरू भने सार्वजनिक गरिएको छैन। यसबारेमा विस्तृत जानकारी मंगलवार वा त्यसपछि दिइने बताइएको छ। यसै साताको शुक्रवारसम्म सरकारी सहमति जुट्नैपर्ने थियो। अन्यथा संघीय कार्यालय बन्द हुने खतरा रहेका थियो। अन्नपूर्णपोष्टबाट