सर्जना कार्की : रुकुम (पूर्व), २ फागुन / मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ ।
सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताउनुभयो ।
सिस्ने गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित गरिएको नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उहाँले बताउनुभयो ।
“गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई असोज २२ गतेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो”, अध्यक्ष बरालले भन्नुभयो, “आयोडिनयुक्त नुन उपहारस्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृत्तिविकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।” उहाँका अनुसार प्रत्येक पटक गर्भवतीले गर्भ जाँच गरेपछि एकपोका आयोडिनयुक्त नुनको पोका र सुत्केरी भएपछि एक लिटर तोरीको तेल पाउनेछन् ।
हाल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा औषधिका साथै आयोडिनयुक्त नुन र तोरीको तेल राख्ने गरिएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहनभत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई प्रोत्साहनवापत रु १०० र यातायात खर्च वापत रु ५०० गरी जम्मा रु ६०० दिने गरेको छ ।
सङ्घीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाई छ ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि आयोडिनयुक्त नुन, सुत्केरी भएपछि एक लिटर तेलका साथै रु ६०० नगद दिने गरेको सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो । आठ वडा रहेको सिस्ने गाउँपालिकामा तीन प्रसूतिगृह छन्, भने सबै वडामा स्वास्थ्य संस्था छन् ।
अहिले गाउँपालिकाको विभिन्न पाँच ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी अन्य ठाउँमा पनि स्थापना गर्ने तयारी गरिराखेको प्रवक्ता केसीले जानकारी दिनुभयो । गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उहाँको भनाइ छ ।