काठमाडौं ३ माघ । काठमाडौं । खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल विक्री गर्दा बोराको समेत शुल्क असुल्ने गरेको पाइएको छ ।
जिल्लाबाट धान खरिद गर्दा, मिलबाट कुटानी गरेर चामल लिंदा र जापानी अनुदानको चामलमा आउने बोरा संस्थानले सित्तैमा प्राप्त गर्छ तर त्यही बोरा बेचेर संस्थानले कर्णाली र दुर्गमका जनताबाट बर्सेनि डेढ करोड रुपैंयाँ भन्दा बढी असुल्दै आएको हो ।
संस्थानले काठमाडौं उपत्यकामा चामल विक्री गर्दा बोराको शुल्क लिंदैन । दुर्गमका जनताबाट भने प्रतिबोरा थप २० रुपैंयाँ अशुल्दै आएको हो ।
संस्थानका प्रबक्ता शंकर सापकोटाका अनुसार उपत्यकाबाहेक दुर्गम जिल्लामा बार्षिक १ लाख ४० हजारदेखि २ लाख क्विन्टल चामल विक्री हुन्छ ।
एउटा बोरामा २० किलो चामलको हिसाबमा बार्षिक आठ लाख बोरा चामल विक्री हुन्छ । जसअनुसार बार्षिक १ करोड ६० लाख रुपैंयाँभन्दा बढी असुल्दै आएको संस्थानका अधिकारीहरु बताउँछन् । -कान्तिपुर दैनिकबाट