काठमाडौं, ४ फागुन । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले पूर्ण रुपमा असफल नै भयो भनेर नभन्ने बताइएकी छिन् ।
शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा चौधरीले भनिन्,‘सरकारले यो एक वर्षमा जति काम गर्नुपर्ने थियो, त्यति गर्न सकेन ।’ उनले पछिल्लो एक वर्षमा सरकार महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घट्ना नियन्त्रण गर्न चुकेको पनि आरोप लगाईन् ।
उनले भनिन्,‘यो एक वर्षमा महिला हिंसा, हत्या र बलात्कारका घट्ना धेरै भए । सरकारले दोषीलाई कारबाही गर्न सकेन् । निर्मला पन्तलगायतका हत्याराहरुलाई सरकारले कारबाही गर्न सकेन् । अरु धेरै दोषीलाई काराबही भएन् ।’
आफूले यो विषयमा हाउसमा धेरै पटक आवाज उठाएको चौधरीले सुनाईन् । उनले भनिन्,‘हाउसमा मैले यो विषयमा धेरै बोलें, जति कराउँदा पनि केही लागेन । सरकारले अन्य कामलाई अहिले थाँती राखेर दोषीलाई काबाही गर्नुपर्छ ।’
चौधरीले विकासको नाममा केही काम भएको सुनाईन् । उनले थपिन्,‘केही नयाँ योजनाहरु बनेका छन् । त्यो ठीकै छ ।’ उनले मधेश आन्दोलनका घाईते तथा बन्दीहरुलाई सरकारले उपचार र रिहाई नगरेकोमा आक्रोश पोखिन् ।
त्यस्तै संविधान संशोधन गर्ने कुरामा पनि सरकार गम्भिर नबनेको उनको गुनासो छ । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा जारी राख्ने भन्ने विषयमा यही फागुन १० गते बस्ने बैठकबाट निर्णय लिने जानकारी दिईन् ।