काठमाडौं ७ फागुन ।
दृश्य एक
समय बिहानको ११ बजे। स्थान : जिल्ला प्रशासन कार्यालय काठमाडौं। सेवाग्राही र कर्मचारीको चहलपहल बिस्तारै बढ्दै थियो। कोही नागरिकता बनाउन आएका थिए, कोही पासपोर्ट। अनि कोही मुद्दामामिलाका कामले बबरमहलस्थित प्रशासन कार्यालय आएका थिए। हामी कार्यालय समय बिहानको १० बजेअघि नै प्रशासन कार्यालयमा पुगिसकेका थियौं। कार्यालय परिसरको बायाँतर्फ मुद्दाफाँट छ। सेवाग्राहीहरू पनि कार्यालय खुल्नेबित्तिकै प्रशासन परिसर पुगिसकेका थिए। तर मुद्दाफाँट रित्तो थियो।
अर्थात् कोही पनि कर्मचारी आइपुगेका थिएनन्। कार्यालय समय खुलेको एक घण्टा बितिसक्दा पनि मुद्दाफाँटका कर्मचारी नआएकाले सेवाग्राही ढोकामै उभिएर कर्मचारीको पर्खाइमा थिए। तर मुद्दाफाँटका प्रमुख प्रशासकीय अधिकृत दुर्गादत्त ढकाल परिसरमै गफमा व्यस्त थिए। उनी प्रांगणमै उभिएर कतिपय सेवाग्राहीका फाइलमा हस्ताक्षर गर्दै थिए। साढे ११ बजेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत ढकाल आफ्नो कार्यकक्ष छिरे। अनि उनीसँगै मुद्दाफाँटका अरू कर्मचारीहरू पनि कार्यालयभित्र पसे। कर्मचारी कुरेर कार्यालयबाहिर रहेका सेवाग्राहीको भीडभाड बढ्यो।
दृश्य दुई
बिहानको ९ :३० बजे प्रशासन कार्यालय पुग्दा कार्यालय सहयोगीले बढारिरहेकी थिइन्। ९ :४० बजे एक सेवाग्राही छोराको नागरिकता बनाउन आए। १० बजेसँगै नागरिकता फाँट खुल्यो। काम गर्न कार्यालय पुगेका कर्मचारी भने हाजिर गर्दै घाम ताप्न कार्यालय बाहिर पो आउन थाले। समूह बनाएर गफमा व्यस्त भए कर्मचारीहरू। उनीहरूमा कार्यालयको सेवाको प्रभावकारिताभन्दा पनि राजनीति र मौसमबारे अलि बढी नै चासो देखिन्थ्यो। सेवाग्राहीको भीड बढेसँगै कर्मचारी पनि आआफ्नो फाँटतर्फ लागे।
नागरिकता बनाउन प्रशासन कार्यालय छिरेका ती सेवाग्राहीले एक घण्टामा काम फत्ते गरे। ‘पहिलाभन्दा अहिले सीडीओ कार्यालयमा काम सन्तोषजनक नै देखियो। सहज रूपमै नागरिकता बनाएँ मैले’, उनले अनुभव सुनाए, ‘पहिला दिदीको नागरिकता बनाउन आउँदा पूरा दिन बितेको थियो, आज एक घण्टामै नागरिकता बनाएँ।’
प्रशासन कार्यालयमा नागरिकतासँगै पासपोर्ट बनाउनेहरूको पनि संख्या कम थिएन। गृह मन्त्रालय मातहतको निकाय हो, जिल्ला प्रशासन कार्यालय। सोही मन्त्रालयकै अर्काे निकायमा कार्यरत एक अधिकृत पासपोर्ट बनाउन मध्याह्नतिर प्रशासन कार्यालय पुगे। उनलाई भने सेवा चुस्त नभएको लाग्यो। ‘राहदानीको फारम बुझाउन कोठा चहार्दाचहार्दै झन्डै २ घण्टा बित्यो’, उनी भन्दै थिए, ‘म कर्मचारीले यस्तो सास्ती पाउनुपरेको छ भने आम नागरिकलाई कति असहज होला, अनुमान लगाउन सकिन्छ।’ राहदानीको फारम भर्न आधा दर्जनजति कोठा चहार्नुपरेको उनले सुनाए। ‘एकीकृत रूपमा एकै ठाउँबाट सेवाप्रवाह गर्ने शैली अपनाउनुपर्छ’, उनले भने, ‘एउटै काम गर्न कति ठाउँ चहार्ने ? यसले हाम्रो सेवाप्रवाह कस्तो छ भन्ने देखाउँछ।’
राहदानी बनाउन आएकी काठमाडौं चन्द्रागिरिकी लालवती लामिछानेलाई भौचर भर्न नै कठिन भयो। उनले सहयोग खोजिन्। तर सबै व्यस्त थिए। अन्नपूर्ण टिमले नै उनको भौचर भरिदियो। ‘सोधपुछमा गयो, झर्केर बोल्छन्, एक पटक बोलेपछि फेरि बोल्न पैसा लाग्ने जस्तो पो गर्छन्,’ उनले पीडा सुनाइन्, ‘हामी जस्ता नबुझ्नेलाई त कम्तिमा सहयोग गरिदिने मान्छे राखे हुने नि।’ उनले कार्यालयमा नागरिक सहायता कक्षको खाँचो औंल्याइन्।
छरपस्ट कागजात
सबै सरकारी कार्यालयलाई पेपरलेस बनाउने नीति सरकारको छ। कागजमा पेपरलेस भनिए पनि व्यवहारमै कार्यान्वयनमा नआएको पुष्टि हुन्थ्यो, सीडीओ कार्यालयको कामकारबाहीमा। कार्यालयभित्र फाइलका फाइल कागजपत्र राखिएको थियो। फाइलहरूलाई व्यवस्थित गर्न नसक्दा भुइँमा छरपस्ट देखिन्थे। संघीय राजधानीकै प्रशासन कार्यालया कागजातको भद्रगोल दृश्यले पेपरलेस बनाउने सरकारी घोषणालाई गिज्याइरहेको थियो।
खोइ पार्किङ ?
भूगोलमा सानो भए पनि जनसंख्याका हिसाबले देशकै सबैभन्दा बढी जनघनत्व भएको काठमाडौंमा सेवाग्राहीको संख्या पनि स्वभावैले बढी हुन्छ। त्यसमा पनि प्रशासन कार्यालयमा भीड हुने नै भयो। सानो क्षेत्रफलमा रहेका सीडीओ कार्यालयमा पार्किङको समस्या भने टड्कारो देखिन्छ। संयौंको संख्यामा आउने सेवाग्राहीका लागि पार्किङको सुविधा नहुँदा मूल सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने अवस्था छ। कार्यालय परिसरमा कर्मचारीका सवारीसाधनलाई मात्र प्रवेश दिइन्छ।