Logo

अख्तियारका पूर्वआयुक्त पाठकको घूस प्रकरण विस्तृत अनुसन्धानमा



काठमाडौं ८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घूस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितताको संकेत देखिएमा विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले हालसम्म पत्रपत्रिकाबाट प्राप्त सूचनालाई उजुरीका रूपमा लिएको हो ।

‘आयोगले मंगलबार उक्त प्रकरणको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको हो,’ आयोग प्रवक्ता रामेश्वर दंगालले भने, ‘सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेका छौं । आजै (मंगलबार) देखि काम सुरु भइसकेको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम १२ मा प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर हुने देखिए प्रतिवेदनका आधारमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन गर्ने उल्लेख छ । आयोगले तोकेको अनुसन्धान अधिकृतलाई विषयवस्तुको गाम्भीर्यताका आधारमा स्पष्टीकरण सोध्ने, बयान लिने, तारिख वा थुनामा राख्नेलगायत अधिकार छ । खानतलासी लिन र धरौटी माग गर्नसमेत सक्नेछ ।

अख्तियारले पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने विषयमा आइतबारै महान्यायाधिवक्तासँग राय मागेको थियो । जवाफमा महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीहरूमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अडचन नहुने सुझाव दिएको थियो ।

अख्तियारको अबको अनुसन्धानले घूस लिएको आरोप लागेका अख्तियारका आयुक्त पाठकसहित उनलाई घूस बुझाउने नेपाल इन्जिनियरिङ कलेजका एक सञ्चालक लम्बोदर न्यौपानेमाथि समेत छानबिन हुनेछ । कलेज सञ्चालकमध्ये न्यौपानेको समूहमा रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, कांग्रेस सांसद सूर्यबहादुर केसी छन् । अख्तियार स्रोतले भन्यो, ‘प्रमाण भेटिए लम्बोदरसहित उनको समूहमाथि समेत छानबिन हुनेछ ।’

घूस प्रकरणमा पाठकका भाइ एवं पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डिन शुभनारायण पाठकको नामसमेत जोडिएको छ । पाठकले लिएको घूसमध्ये ७८ लाख रुपैयाँ आफूले लिएर १५ लाख भाइका नाममा ‘फरवार्ड’ भएको कुराकानी भिडियो रेकर्डमा रहेको स्रोतले बतायो । तर शुभनारायण हालसम्म पनि पूर्वाञ्चल विश्वविद्यालयको डिनका रूपमा नै कार्यरत छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्