Logo

फ्रुटीमा लोभिँदा ज्यान गयो



काठमाडौं ८ फागुन । जनकपुरधाम फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् ।

फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन आएका २२ वर्षीय नीरज जर्घामगरले रेश्मालाई सिकार बनाए ।

फ्रुटीमा लोभिँदा ज्यान गयोबोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर पर उखुखेतमा लगे ।

रक्सी, लागुऔषध (ट्याबलेट) र गाँजासमेत सेवन गरी मात्तिएका नीरजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जबर्जस्ती करणी गरे ।

बलात्कारपछि अचेत भएकी रेश्माले आफ्नो पोल खोल्ने डरले नीरजले उनको घाँटी थिचेर हत्या गरे । हत्यापछि बालिकाको शव लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि सुकेका उखुका पात, बालिकाले लगाएका कपडा र चप्पल राखेर आगो लगाइदिए ।

रेश्माको शवमा आगो लगाएपछि नीरज फेरि विवाहको घरमा गई नाचगान हेरी बसेका थिए । घटनाको भोलिपल्ट बिहान १०ः३० बजे स्थानीयले उखुबारीमा आधा जलेको शव देखे । शवमाथि कुनै लुगा नरहेको कारण पहिचान गर्न मुस्किल थियो । रेश्माले लगाएको स्वेटरको टुक्रा शवमाथि देखेपछि परिवारजनले उनको पहिचान गरेको थियो । उखुबारीमा आधा जलेको शव देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

यसरी समातिए अभियुक्त

धनुषा बटेश्वर गाउँपालिका-४ बैगाली टोल काकाको घरमा बस्दै आएका नीरजको मामाघर हरिहरपुर मगरटोलमा छ । बालिकाको बलात्कारपछि हत्या गरी उनी बिहे घरबाट राति करिब ११ः३० बजे मामाघरमा गई सुते । बिहान उठ्दा गाउँमा बालिका हत्याको हल्ला भइसकेको थियो । नीरज आफैं पनि शव जलाएको ठाउँ हेर्न गए । घटनास्थलबाट मामाघर फर्किएर बिहान १० बजे गाउँबाट भागे ।

संवेदनशील एवं गम्भीर प्रकृतिको घटना भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी इकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थाल्यो । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्