मङ्गलबारे, ९ फागुन / इलामको सन्दकपुर गाउँपालिका भएर बगेका माई र पुवामाई खोला पानीको बहाव क्षेत्र बढाउन र वातावरणमा थप सुधार गर्न जलविद्युत् प्रसारणको काम गरिरहेका आयोजनाको रु साढे १६ लाख लगानीमा वृक्षरोपण गरिने भएको छ ।
दुई वटा खोलाबाट निर्माण गरिएका १२ जलविद्युत् आयोजनाले उक्त रकम सन्दकपुर गाउँपालिकालाई उपलब्ध गराएपछि वृक्षरोपण गरिने भएको हो । वृक्षरोपणका लागि २२ मेगावाटको क्षमताको सानिमा हाइड्रोपावर प्रालिले रु तीन लाख ९२ हजार रकम उपलब्ध गराउने सन्दकपुर गाउँपालिकाले जनाएको छ ।
सात मेगावाटको सानिमाकै क्यास्केट आयोजनाबाट रु एक लाख २४ हजार, १० मेगावाट क्षमताको पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट रु एक लाख ७८ हजार र ६.१० मेगावाट क्षमताको पञ्चकन्या क्यास्केडबाट रु एक लाख आठ हजार, ९.५१ मेगावाट क्षमताको साम्लिङ हाइड्रोपावर लिमिटेडबाट रु एक लाख ७० हजार, ९.०६ मेगावाट क्षमताको सगरमाथा जलविद्युत् कम्पनी प्रालिबाट रु एक लाख ७१ हजार र आठ मेगावाट क्षमताको हिमाल दोलाखा हाइड्रोपावर लिमिटेडको क्यास्केडबाट रु एक लाख ४२ हजार वृक्षरोपणका लागि गाउँपालिकालाई उपलब्ध गराइने जलविद्युत् आयोजनाले जनाएका छन् ।
वृक्षरोपणकै लागि चार मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावरले रु ७१ हजार, ७.८ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावर लिमिटेडले रु एक लाख ४० हजार, ४.९६ मेगावाटको पुवाखोला हाइड्रोपावरले रु ६० हजार, चार मेगावाटको पुवाखोला–१ बाट रु ४८ हजार र ३.५ मेगावाट क्षमताको जोशी हाइड्रोपावर लिमिटेडले रु ४२ हजार उपलब्ध गराउने जनाएको छ ।
माई र पुवाखोलामा वृक्षरोपण गर्न र त्यसका लागि लगानीको स्रोत खोज्न र वृक्षरोपण गर्न सन्दकपुर गाउँपालिकाले जलविद्युत् आयोजनालाई आग्रह गरेको थियो । विद्युत् आयोजना वरिपरि तथा खोलाको आसपासमा वृक्षरोपण गर्दा खोलामा पानीको सतह कम नहुने तथा हरियालीसमेत कायम राख्नका लागि जलविद्युत् आयोजनासँग वृक्षरोपणका लागि आग्रह गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताउनुभयो ।
माई नगरपालिकामा सभाकक्ष
माई नगरपालिकाले सुविधायुक्त सभाहल निर्माण गर्ने भएको छ । नगरपालिकामा सभाहल नहुँदा खुला चौरमा कार्यक्रम गर्नुपर्ने बाध्यता भएकाले नगरपालिकाले सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको माई नगरपालिकाका प्रमुख दीपक थेवेले बताउनुभयो ।
माई नगरपालिका–२ को भलायोटारमा सुविधासम्पन्न सभाहल निर्माणका लागि डिपिआर तयार गरिसकिएको जनाएको छ । चालू आर्थिक वर्ष ०७५/७६ देखिनै निर्माण शुरु गर्ने लक्ष्यका साथ डिपिआर निर्माण गरि बोलपत्र आह्वानका लागि तयारी गरिएको समेत प्रमुख थेवेले बताउनुभयो । रासस