Logo

मोल्दोभा र सेनेगलमा आइतबार मतदान



चिसिनाउ, १० फागुन । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ ।

करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त हुने सुझाव पनि धेरैको छ । मोल्दोभाको भाषा र इतिहास दुबै रोमानीयासँग मिल्दोजुल्दो छ । रोमानीया पहिल्यै युरोपेली युनियन ९इयू०मा आबद्ध रहेकाले मोल्दोभा पनि इयूमा सामेल हुनुपर्ने धारणा केहीको छ ।

चुनावमा रसिया समर्थित समाजवादी पार्टीका नेता एवं राष्ट्रपति आइगोर डोडोन, सत्तारुढ प्रजातान्त्रिक पार्टी र युरोप समर्थित गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।यो चुनाव नयाँ चुनावी प्रणाली बमोजिम हुँदैछ । १०१ सदस्यीय संसदमा पार्टीको सूची र चुनावी क्षेत्रबाट सांसदहरु चुनिनेछन् ।

चुनावी मतसर्वेक्षणमा डोडोनको रुस समर्थित दल अगाडि रहेको देखिएको छ । डोडोनले मोल्दोभालाई रुसको अगुवाईमा निर्माण गरिएको युरेसियाली आर्थिक यूनियनमा आबद्ध गराउन चाहनु भएको छ ।

सेनेगलमा राष्ट्रपतीय चुनाव

डाकारः सेनेगलमा आइतबार राष्ट्रपतिका लागि पहिलो चरणको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति म्याकी साल पनि चुनावी मैदानमा हुनुहुन्छ ।उहाँका प्रतिस्पर्धीका रुपमा डाकार नगरका लोकप्रिय पूर्व मेयर खलिफा साल र पूर्व राष्ट्रपतिका छोरा करिम वाडे रहेकामा दुबैको उम्मेदवारी रद्द भएको छ । उहाँहरुमाथि भ्रष्टाचारको आरोपमा अदालतबाट दोषी ठहर गरिएको छ ।

“पहिलो चरणमा विजयी हुनेमा द्विविधा नै छैन,” म्याकी सालले डाकारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै भन्नुभयो ।चुनावी प्रतिस्पर्धामा राष्ट्रपति साल विरुद्ध चार जना विपक्षी नेताहरुले चुनौती दिँदैछन्, तर उनीहरु त्यति लोकप्रिय छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्