काठमाडौं ११ फागन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो ।
‘त्रिविले नियमित तालिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौं ।’ त्यसनिम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले बताइन् ।
‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ,’ त्रिपाठीले भनिन्, ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने/नहुने भन्ने उनीहरूले नै निर्णय गर्ने हो ।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो ।