Logo

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान



काठमाडौँ, ११ फागुन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गर्नुभयो ।

यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै उहाँले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्नुहुनेछ । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ ।

उक्त प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्कनेछ । प्रतिनिधिमण्डललाई विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव शङ्करदास वैरागी तथा उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot