Logo

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर



ललितपुर, १२ फागुन । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।

चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उहाँले भन्नुभयो, “अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।”

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।”

महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्