Logo

सामान बरामद भए पनि तस्कर सजिलै उम्कदा प्रहरीमाथि आशंका



काठमाडौं, फागुन १५ । पुसको दोस्रो साता अवैध ढंगले सिरहाको सीमावर्ती ठाडी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो । सोही बेला प्रहरीले सामान बोक्न प्रयोग गरिएका ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरु भने उम्कन सफल भए ।

माघ १८ गते भारतबाट नेपालतर्फ ट्याक्टरमा ल्याइँदै गरेको १८ बोरा हार्डवेयरका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लियो तर चालक र तस्करीमा संलग्न सजिलै उम्किए । माघ २७ गते महेशपुर पत्तार नाकाबाट मोटरसाइकलसहित तस्करीका सामान मात्र बरामद भयो ।

सिरहाका विभिन्न नाका क्षेत्रबाट चिनियाँ स्याउ, मरिच, मटर भारत तस्करी हुने र भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामानदेखि हार्डवेयरका सामानसम्म तस्करी हुने यी उदाहरणमात्र हुन् ।

भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग भएका सवारीसाधन बेलाबखत प्रहरीको नियन्त्रणमा आउने गरेका छन् तर तस्करीमा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको पाइँदैन । तस्करीमा संलग्न पक्राउ नपर्नुमा स्थानीयको आशंका प्रहरीतर्फ केन्द्रीत हुने गरेको छ । –नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्