Logo

सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन



संयुक्त राष्ट्रसंघ,१६ फागुन । सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् ।

गत मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष पेश गरिएको सो प्रतिवेदनमा यसरी मानवीय सहायताको खाँचो पर्नेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् ।

उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वय ओचाकी निर्देशक रीना गिलानीले बताउनुभयो ।त्यस क्षेत्रका सिरियाली नागरिकलाई अन्य भू–भागको तुलनामा मानवीय सहायताको बढी खाँचो रहेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो सहायताको खाँचो रहेका करिब ४० प्रतिशत बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ । करिब २० लाख नागरिकलाई शुद्ध पानीको आवश्यकता रहेको छ । यहाँका नागरिक न्यूनतम आवश्यकताका वस्तुबाट पनि वञ्चित रहेका र उनीहरुका कारण परिस्थिति झन भन्दा झन नाजुक बन्दै गएको छ ।

ओचाका निर्देशक गिलानीले अवस्था नाजुक रहेकाले सबैले ध्यान दिन आग्रह गर्नुभयो ।सिरियाको उत्तरपश्चिमी क्षेत्र र विशेषगरी इद्लिबका नागरिकको अवस्था अन्यत्रको भन्दा नाजुक रहेको निर्देशक गिलानीको भनाई छ ।सो क्षेत्रका नागरिक अन्यत्र कतै जान पाउँदैनन् र उनीहरुलाई सैनिक घेराभित्र राखिएको छ तर पनि उनीहरुका लागि दैनिक जीविवकोपार्जनका लागि आवश्यक वस्तुहरु पाउन निकै कठिन छ ।

रुस र टर्कीसँगको सहमतिपछि टर्कीको सीमा क्षेत्रको केही क्षेत्रमा सैनिक नराख्ने भनी सहमति भएको थियो । त्यस क्षेत्रमा बस्ने नागरिकमा पनि आधारभूत खाद्य तथा अन्य वस्तुहरुको खाँचो रहेको पाइएको छ ।

त्यस क्षेत्रमा सैन्य गतिविधि त भएको छैन तर पनि त्यहाँका स्थानीय नागरिक त्यहाँबाट विस्थापित हुन भने रोकिएको छैन । हजारौँको संख्यामा त्यहाँका नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् ।

उनीहरु विस्थापित हुनुको कारण पछिल्लो समयमा सुरक्षा भन्दा पनि आधारभूत अवाश्यकता नपाएर पनि हुनसक्ने अनुमान अधिकारवादीहरुको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्