काठमाडौं १७ फागुन । सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय परम्पराअनुसारै भएको जनाएको छ ।
‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्वराष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिने परम्परा छ,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसित भने, ‘त्यही परम्पराअनुसार बहालवाला मन्त्री अधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिइएको हो ।’ उनले सरकारले अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानसाथ गर्ने निर्णय गरेको जानकारी दिए ।
Citizen
सरकारले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यबहादुर थापाको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । उनीहरूको अन्तिम संस्कारसमेत राजकीय सम्मानसाथ गरिएको थियो । पञ्चायतकालीन पूर्वप्रधानमन्त्रीको निधनमा भने बिदा दिने गरिएको छैन । ०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री भएकालाई मात्र त्यस्तो सम्मान दिने सरकारको निर्णय छ ।
२०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा तत्कालीन वनराज्यमन्त्री गोपाल राईसहित २४ जना हेलिकप्टर दुर्घटनामा बित्दा पनि सरकारले सार्वजनिक बिदा दिएको थिएन । राई क्याबिनेट राज्यमन्त्री थिए । उनको निधनमा वन मन्त्रालय र मातहत कार्यालयमा मात्र बिदा दिई राष्ट्रिय झन्डा आधा झुकाइएको थियो ।
पञ्चायतकालमा बहालवाला मन्त्रीको निधन हुँदा सार्वजनिक बिदा दिने परम्परा थियो । बहुदलीय व्यवस्थापछि सरकारले बहालवाला मन्त्रीको निधनमा पहिलोपटक सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले पुरानो परम्पराअनुसार मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको स्रोतले जनाएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टरमा अधिकारीसहित सात जनाको ज्यान गएको थियो । कान्तिपुरबाट