Logo

‘भारत–पाकिस्तान विवादमा मोदीको जित भयो’



परराष्ट्रविद एवम् पूर्वराजदुत डा. लोकराज बरालले भारत र नेपालबीच पछिल्लो समय धेरै राम्रो पनि नभएको र धेरै बिग्रिएको पनि नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘हामी दुई देशबीच पछिल्लो समय सम्बन्ध सामान्य छ । जति हुनुपर्ने हो, त्यति कोर्डिअल पनि छैन् ।’ उनले भारत र पाकिस्तानबीच पछिल्लो समय उत्कर्षमा पुगेको विवादमा पनि भारतले सफलता पाएको दाबी गरेका छन् ।

प्रस्तुत छ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलाले डा. बरालसँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेपाल–भारत सम्बन्ध कस्तो छ ?

नेपाल र भारतबीचको सम्बन्ध सामान्य छ । त्यस्तो कोर्डिअल पनि छैन् । ठिकै छ, आफ्नो स्थानमा छ । दुई देशबीचको सम्बन्ध बिग्रिएको पनि छैन । राम्रो भएको पनि छैन् ।

अहिले भारत र पाकिस्तानबीच तनाब बढेको छ नि ? यो तनाब कम हुने संकेत देखिएको हो ?

हो, भारत र पाकिस्तानबीचको सम्बन्धमा उत्पन्न भएको तनाब कम हुने संकेत देख्दैछु । एउटा त के हो भने लडाईमा जाँदा दुवै मुलुक ध्वस्त हुन्छ भन्ने उनीहरुले महशुस गरेका छन् । भारतपनि यत्रो आर्थिक उन्नति गरिराखेको छ । त्यो पनि उसलाई अप्ठ्यारो छ । त्यस्तै, पाकिस्तानपनि आर्थिक रुपले अहिले ज्यादै कमजोर भएको छ । र, उसलाई अन्तर्राष्ट्रिय जगतले पनि अलिकति एक्लाएजस्तो, उसलाई पनि चारैतिरबाट दबाब परेको छ । त्यो जेस्चर देखाएर उसले पाईलटलाई छोड्ने निर्णय गरेको हो । त्यसले पनि एउटा वातावरण बनाएको छ ।

उसो भए अब भारत–पाक सम्बन्ध सुधार हुने संकेत देखा परेको हो त ?

पाकिस्तानले भारतीय पाईलटलाई रिहाई गरेको कुरामात्रै होईन कि त्यसभित्र अरु धेरै कुराहरु छन् । कुटनीतिक रुपमा पनि अहिले दबाब परेको छ । अमेरिकादेखि चीनपनि अहिले आतंकवादको कुरामा पहिलेदेखिको अडानभन्दा अहिले फरक देखिएको छ । अरु मुलुकहरुले पनि दबाब दिएका छन् । यसले गर्दापनि पाकिस्तानले आफ्नो पोजिशन कम गर्नुपर्ने हुन्छ । पाकिस्तान अहिले कमजोर नै हुन्छ लडाईमा लाग्यो भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले महशुस गरेका छन् । त्यो सोच उनको छ । त्यसैले उनले जहिल्यैपनि वार्ताबाटै समस्याको समाधान गर्नुपर्छ भनेर भन्दै आएका छन् । एक किसिमले भन्ने हो भने यो सन्दर्भमा चाहीँ भारतले कुटनीतिक रुपमा राम्रै भूमिका निर्वाह गरेको छ।

भारत र पाकिस्तानबीचको युद्धको जोखिम अब कम भयो भनिदिएहुन्छ ?

घोषणा त हामीले गरेर हुने होईन नि । तर, मेरो अनुमानमा यहाँभन्दा बढि बढायो भने त्यो राम्रो हुँदैन् । उनीहरु आँफैले पनि यो बढ्न दिँदैनन् । उत्कर्षमा पुगेको विवादलाई मत्थर गर्ने कुरामा उनीहरुले सोचिरहेका छन् । भारतले पनि एउटा शर्त राखेको छ । आतंकवादीहरुको अखडा बन्द गर्नुपर्छ भनेर भारतले भनिरहेको छ । भारतको यो अडानको पक्षमा र साथमा विश्वनै लागिरहेको छ । आतंकवादी गतिविधिहरु पाकिस्तानबाट भैरहेको छ भन्ने कुरालाई विश्व समूदायले बुझेको छ ।

आतंकवादको अन्त्य गर्नुपर्छ भन्ने कुरामा विश्व एकमत छ ?

एकमत छ । त्यसमा पाकिस्तानतर्फबाट भएको भन्ने कुरा पनि आएको छ । अहिले यो विवाद मिलाउनको लागि संसार नै लागिराखेको छ । विवाद साम्य हुन्छ । यसपालि कुटनीतिक रुपमा भारतको सफलता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफलता हो कि उनको यो रणनीतिमात्रै हो ?
हो, एकथरिले यो पनि भनिरहेका छन् कि चुनाव प्रचारको लागि मोदीले जानी जानीकन यो पाकिस्तानमा गएर अतिवादीहरुको क्षेत्रमा गएर आक्रमण गरेको हो भनेर पनि भनेका छन् । तर, यो ईस्युमा मोदी कुटनीतिक अलिकति राम्रैसँग भएको छ ।

उसो भए कुटनीतिक रुपमा मोदीले पाकिस्तानमाथि आक्रमण गर्न सफल भए भन्दा हुन्छ ?

कुटनीतिक रुपमा आक्रमण नभनौं तर कुटनीतिक रुपमा मोदी अलिकति सफल भएका छन् ।

भारतको आगामी निर्वाचनबारे यहाँले के विश्लेषण गर्नुहुन्छ ? भाजपाको अवस्था के हुन्छ ?

अहिलेकै अवस्थाको कुरा गर्दा भारतमा प्रतिपक्षीहरुलाई अलिकति अप्ठ्यारो परेको छ ।

नेपालमा वैदेशिक लगानी कति आउला ?

हावादारी कुरा गरेर भाषण गरेर विदेशी लगानी आउने होईन । वातावरण छैन् । बम पड्किन्छ । अर्को ठाउँ तर्सिन्छ । यो समय कानुन बनाउने बेला हो कि होईन । बजार हेर्छन् । त्यसै खुँईखुँई लगानी गर्न आउँदैनन् । दाताहरुले सहयोग गर्लानजस्तो मलाई लाग्दैन् । म अहिलेको परिस्थिति हेर्दा आश्वस्त हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot