Logo

‘अधिकारीको जीवन सँधै सफल रह्यो, उहाँ बेदाग भएर जानुभयो’ : मनिष सुमन



काठमाडौं, १८ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा धेरै राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । मेरो उहाँसँग गत माघ १७ गते अन्तिम भेट भएको थियो । त्यो पनि विमानस्थलमा । मैले त्यो भेटमा जनकपुर एयरपोर्टमा रात्रिकालिन सेवाको लागि आग्रह गरेको थिएँ । उहाँले तत्पश्चात् उहाँले काम गर्नुभयो । उहाँ बोलेको कुरा पूरा गर्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा सुमनले आफूहरु धेरै कार्यक्रममा सँगसँगै रहेको पनि सुनाए । उनले भने,‘उहाँ र म एउटै कोठामा पनि सुतेका छौं । उहाँ विकासप्रति निकै गम्भिर हुनुहुन्थ्यो । उहाँले कहिल्यैपनि मधेशको विरोधमा बोल्नुभएन । बरु, पार्टीले हामीलाई तथानाम गाली गर्दा त्यसको विरोधमा सार्वजनिक रुपमै दुःख व्यक्त गर्नुभएको थियो ।’

सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले सुनाए । उनले भने,‘उहाँ विकासप्रति दुरदृष्टि राख्ने नेता हो । अत्पायुमै निधन भएकोले राष्ट्रलाई ठूलो क्षति पुगेको छ । सिँगो देशलाई यो ठूलो क्षति हो ।’ स्वर्गीय अधिकारी विलाषिताभन्दा धेरै टाढा रहेको पनि सुनाए ।

उनले थपे,‘मैले उहाँमा घमण्ड र लोभ देखेको थिईंन।’ अधिकारी पोखरामा अत्यन्तै लोकप्रिय भएको कुरा आफूले स्वयम देखेको पनि उनले सुनाए । अधिकारीको जीवन सँधै सफल रहेको उनको दाबी छ । उनले भने,‘उहाँ बेदाग भएर जानुभयो ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकैसरह भएको पनि स्पष्ट पारे । उनले भने,‘यो सरकारको कुनैपनि कृत्य र कु–कृत्यसँग हाम्रो कुनै साईनो छैन् । सरकार गठन गर्दा फागुन ३ गते उहाँहरु सरकारलाई समर्थन गर्नुहोस भन्दै भीक्षा माग्न आउनुभएको थियो । तर, सरकारले अहिलेसम्म हामीसँग गरेको वाचा र सहमति पालना गरेन् । अहिलेसम्म यो सम्बन्धमा कुनै नविकरण भएन् ।’

सरकारलाई दिएको समर्थन अब बस्ने पार्टीको कुनैपनि बैठकले फिर्ता लिने उनले ठोकुवा गरे । उनले थपे,‘हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएसरह हो । तर, औपचारिक निर्णय अब बस्ने पार्टीको बैठकले लिन्छ । निर्णय फिर्ता भएपछि एक कपि राष्ट्रपतिकहाँ, एक कपी सभामुखकहाँ र एक कपी ऋषि धमलाजीलाई पनि दिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्