काठमाडौं २१ फागुन । तराईमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउन्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको हो ।
फाउन्डेसनका अनुसार तराईका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासी गरी ९ जिल्लाका ४५ हजार महिलाको सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरिएको थियो ।
अध्ययनअनुसार ४५ हजार महिलामध्ये ३४ हजार ९ सय ६० जनाको पाठेघर खस्ने समस्या पहिलो स्टेजमा रहेको पाइएको थियो । उनीहरूलाई रोकथामका उपायका विषयमा जानकारीसमेत दिइएको थियो ।
दोस्रो चरणमा ९ वटै जिल्लामा पाठेघर खस्ने समस्या निराकणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १० हजार ८ सय महिलालाई डाक्टर, हेल्थ असिस्टेन्ट र नर्सहरूबाट एन्टिबायोटिक, औषधि, किगल अभ्यास र पाठेघर खस्न रोक्ने रिङ पेसरी उपलब्ध गराइएको थियो । तेस्रो चरणमा पहिचान गरिएका ३ सय ६० जनाको पाठेघर खसेको पाइएपछि उनीहरूको शल्यक्रियासमेत गरिएको थियो । कान्तिपुरबाट