Logo

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्तले आव २०७४÷७५ मा आयोगबाट सम्पादित प्रमुख कार्यबारे जानकारी दिनुभएको थियो । आव २०७४÷०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको तथा निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएका अवस्थामा प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन एवं ७७ वटै जिल्ला समन्वय समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन व्यवस्थापनका लािग सामान्यतः १२० दिनको अवधि आवश्यक पर्ने भए तापनि ८२ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सम्पूर्ण सरोकार पक्षको सहयोगमा अहोरात्र खटिएर सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनबाट ३८ हजार ५०० जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ । यसबीचमा तीन वटै तहका सरकार सञ्चालनमा आएको र सङ्घीयताको पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतिवेदनमा समेटिएको छ ।

राष्ट्रपतिले प्रस्तुत प्रतिवेदन प्रधानमन्त्री कार्यालयमार्फत ससंद्मा पठाइने बताउँदै निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको र नेपालको संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन तोकिएको समयमा सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभएको आयोगले जनाएको छ । सो अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड््याल, सुधीरकुमार शाह, निमित्त सचिव शङ्करप्रसाद खरेललगायत अन्य कर्मचारीको उपस्थिति थियो ।रासस



प्रतिक्रिया दिनुहोस्