Logo

अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति



काठमाडौं, २३ फागुन । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर शृङ्गारका सामानको व्यवसायमा संलग्न छिन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्षमात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको बताइएको छ ।

२१ वर्षको उमेरमै अर्बपतिको सूचीमा सामेल हुँदै उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी छन्। विश्वकै कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

सोशल मिडियामा पनि काइली उत्तिकै सक्रिय छिन् । यसबाट पनि उनले आफ्नो व्यवसायको प्रचारप्रसार तथा लोकप्रियतामा चाँडो प्रगति हासिल गरेको विश्लेषकहरु बताउँछन् । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्विटर लगायतमा उनका १७५ मिलियन फलोअर छन् । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्