Logo

‘गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश’ : पूर्वराष्ट्रपति यादव



काठमाडौँ, २३ फागुन। पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतका अहिंसावादी नेता महात्मा गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश भएको धारणा व्यक्त गर्नुभएको छ ।

भारतको सँस्कृति मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासद्वारा आज नेपाल कला परिषद्मा आयोजित गान्धीको तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले अहिंसा र शान्तिका माध्यमबाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश गान्धीबाट पाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भारतमा जनता र विद्वान समुदायलाई जोड्ने काम मात्र नभई हिन्दू र मुसलमान समुदाय पनि मिलेर बस्नुपर्ने प्रेरणा गान्धीबाट मिलेको छ भन्नुभयो । गान्धी विचारधाराबाटै प्रभावित भएर आफूले पनि नेपालमा सबै समुदाय मिलेर देश बनाउन लाग्नुपर्ने विचार व्यक्त गर्दै आएको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले गान्धी शताब्दीकै सर्वमान्य नेता भएको विचार व्यक्त गर्दै दक्षिण एशियाको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा गान्धीको ठूलो योगदान रहेको बताउनुभयो ।

सांसद प्रदीप गिरीले गान्धीको शान्तिपूर्ण र अहिंसावादी आन्दोलन भारतका लागि मात्र नभई सबैका लागि प्रेरणाको स्रोत भएको विचार व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका पुराना नेता सागरशम्शेर राणा र स्वामी विवेकानन्द संस्कृति केन्द्रका निर्देशक प्रा केदारनाथ शर्माले गान्धीको शान्तिको सन्देश आज पनि सबैका लागि प्रेरणाको स्रोत भएको धारणा व्यक्त गर्नुभयो ।

परिषद्मा गान्धीको जीवन झल्किने विभिन्न तस्वीर प्रदर्शनीमा राखिएका छन् । नेपालमा भारत महोत्सवअन्तर्गत आयोजना गरिएको प्रदर्शनी यही फागुन २९ गतेसम्म चल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्