दाङ, २३ फागुन । तुलसीपुरमा आज खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा सो कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख पाण्डेले कार्यालय स्थापनाले नागरिकलाई गुणस्तरहीन खाद्यान्न प्रयोगमा नियन्त्रण गर्न सहज हुने बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुमा गरिने मिसावटलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा अनुगमन गर्नुपर्ने र त्यसका लागि उपमहानगरपालिकाको सधैँ साथ रहने बताउनुभयो । उहाँले ल्याब सञ्चालनका लागि उपमहानगरपालिकाले भौतिक संरचना निर्माण गरी सहयोग गर्ने बताउनुभयो ।
प्रजिअ रिजालले कार्यालय स्थापनाले बजार अनुगमन र चेतना अभिवृद्धि गर्न सहज हुने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावत, तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेलगायतले विभिन्न सुझाव दिएका थिए । सो कार्यालयको कार्यक्षेत्र साबिकको राप्ती अञ्चलका विभिन्न जिल्ला रहेका छन् । यसअघि दाङमा खाद्य तथा गुण नियन्त्रण कार्यालय नहुँदा नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयले हेर्ने गर्दथ्यो ।रासस