Logo

मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ: राष्ट्रपति



गोरखा २३, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आज आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म पूजाको उद्घाटन गर्दै उहाँले मनकामना र आसपासको क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “यहाँ वरपर ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक सम्पदाको उजागर गरी वृहत धार्मिक पर्यटकको केन्द्र बनाउन सके यहाँ आफ्नै ठाउँमा रोजगारीको अवसरसमेत सिर्जना हुनसक्छ ।’’ उहाँले सरकारको आर्थिक र प्राविधिक सहयोगमा जनताबाटै अधिक रकम सङ्लकन गरी ऐतिहासिक मनकामना मन्दिर निर्माण हुनु सरकार र जनताबीचको सहकार्यको एउटा उदाहरणीय नमूना भएको उल्लेख गर्नुभयो । “२०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको मन्दिर जिर्णोद्धारको पर्खाइएको थियो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “तपाई जनसमुदायको सहकार्यमा पुनःनिमार्ण भएको छ, यो खुशीको कुरा हो ।”

उहाँले जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माणको कार्यले देखाएको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो, हामीले हाम्रो संस्कृति, परम्परा, रीतिरीवाजलाई संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।” सो अवसरमा राष्ट्रपति भण्डारीले मनकामना मन्दिर पुनःनिर्माणमा नगद तथा जिन्सी सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मानसमेत गर्नुभएको थियो ।

नेपाली सेनाका हेलिकप्टरबाट मनकामना पुग्नु भएका राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजासमेत गनुभयो । पुनःनिर्माण सम्पन्न भएसँगै गत मङ्सिर १२ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको भए पनि उपयुुक्त पूजा साइत नभएकाले रोकिएको दशकर्म पूजासमेत आजै गरिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्