Logo

विकासको युग शुरु भयोः मुख्यमन्त्री गुरुङ



कास्की, २७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताउनु भएको छ । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को समापन समारोहमा उहाँले देशका तीनै तहका सरकार विकास र समृद्धिमा एकजुट भएर लागेकाले विकासको युग शुरु भएको बताउनुभयो ।

अहिलेका तीनै तहका सरकार जनताको आवश्यकताअनुसार कानून, बजेट तथा आवश्यक नीति निर्माणमा स्वायत्त भएको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “विगतमा तीन÷चार लाख बजेट आउने स्थानीय निकायमा अहिले करोडौँको बजेट छ । बजेट कार्यक्रमका लागि माथिको मुख ताक्नुपर्ने अवस्था नभएकाले योजना निर्माण र आफ्नो काम आफँै गर्न सक्छन् । अब विकासको युग शुरु भयो ।”

मुख्यमन्त्री गुरुङले ठूला आयोजना सञ्चालन र विदेशी सहयोग ल्याउने काम सङ्घीय सरकारको भएको तथा प्रदेश र स्थानीय सरकारले नजीकबाट आवश्यकताको आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने भएकाले अब विकास सम्भव भएको स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारले आवश्यक कानून, कार्यविधि र आधार तयार गरिरहेकाले कामको नजिता नदेखिएको भन्दै उहाँले भन्नुभयो, “प्रदेश सरकार अहिले गर्भमा छ । पाँच, १२ र २५ वर्षको योजना निर्माण गरिरहेका छौँ । अहिले सरकारको मूल्याङ्कन गर्न हतारो नगरौँ, अर्को वर्ष सरकारको उपस्थिति कहाँ छ देख्नुहोला ।”

संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङले रुपा गाउँपालिका पर्यटन र कृषिमा अग्रणी भएपनि बजार झर्ने प्रवृत्ति नरोकिएकाले गाउँघर खाली हुने अवस्था आएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले गाउँमै स्वरोजगार र आम्दानीका अवसर सिर्जना गर्नुपर्ने भनाइ राख्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री नमूना कृषि गाउँ, खानेपानी, सडकलगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन भएकाले त्यसको समयमै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाले सडक, खानेपानी र सामाजिक विकासको क्षेत्रमा नमूना कार्य गरेको चर्चा गर्नुभयो । गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका तीन हजार २०० घरधुरीमा पिउने पानी र विद्युत्को व्यवस्था गर्ने गरी योजना निर्माण गरिरहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्