Logo

‘शिक्षा-स्वास्थ्यलाई राज्यको दायित्वभित्र पार्नुपर्छ’



काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई अझै स्तरीय बनाउने प्रक्रियामा भने सबैले साथ दिनुपर्ने बताएका हुन ।

उनले भने,“शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र पार्नुपर्छ तर यति छिटो निजी विद्यालयलाई अङ्कुश बनाउन सम्भव छैन । अहिले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्दै समृद्धिको दिशामा जानुपर्छ । समाजवादमा पुग्न धेरै समय लाग्छ, त्यसबेलाका लागि सोच्ने कुरा अर्कै हो ।”

उनले सरोकार भएकासँग पर्याप्त छलफल गरेर मात्रै सङ्घीय शिक्षा ऐन ल्याउन आफूले सरकारलाई पनि आग्रह गरेको जनाउँदै संसद्मा आएपछि पनि छलफल हुने भएकाले निजी विद्यालयका सञ्चालकहरु आत्तिन नपर्ने स्पष्ट गरे ।

तस्विर : मुकुन्द कालिकोटे/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्