Logo

मलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरेको छ, तर म कसैको धम्कीबाट विचलित हुन्न : प्रचण्ड



काठमाडौँ, ३० फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् ।

वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले भने, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका  प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिनुभयो ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसक्ने ठोकुवा गरे । अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भने, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे ।

प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्