Logo

(ब्लोदान) काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न



धेरै रक्तदान गर्नेहरुलाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ : ऋषि धमला
रगत चाहिए : ‘+९७७–९८५१०–२६६४०’ मा कल गर्नुहोस’
काठमाडौं, २ चैत्र । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाहरुको परिचय प्रर्वद्धनका साथै रक्तदान गरौं भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सोही उद्देश्यले गत जेठ २६ गतेदेखि हालसम्म विश्व सम्पदा क्षेत्रमा सूचिकृत स्वयम्भु, पशुपति, बौद्ध, चाँगुनारायण, काठमाडौं दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको ब्लोदान काठमाडौं शाखाले जानकारी गराएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा ब्लोदान काठमाडौं शाखाले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । ब्लोदान काठमाडौं शाखाका सचिव अनिल रत्न तुलाधारको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै ब्लोदानका केन्द्रिय समितिका उपाध्यक्ष सुर्यलाल महर्जनले ब्लोदानले आगामी नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

उनले आगामी दिनमा आफूहरुको संस्था ब्लोदानलाई पनि संघीय संरचनाअनुसार अघि बढाउने अन्तिम तयारी भैसकेको जानकारी दिए । देशभरि रक्त अभाव हुन नदिन र मागलाई परिपुर्ति गर्नेगरि संस्थाले चनचेतनामूलक कार्यक्रमहरु अघि सारेको पनि महर्जनले विश्वास दिलाए । महर्जनले अहिलेसम्म सय पटक रक्तदान गरिसकेका छन् ।

उनले सम्पदा संरक्षण तथा प्रर्वद्धनको लागि काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रमअन्तर्गत लुम्बिनीमा सम्पन्न रक्तदानमा सहभागी जनाउँदै सय पटक दान गरेको जनाए । उनले थपे,‘रक्तदानको लागि ब्लोदानले यसको स्थापनाकालदेखि नै सशक्त रुपमा अभियान चलाउँदै आएको छ, आगामी दिनमा पनि हामी यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्छौं ।’

कार्यक्रममा ब्लोदान काठमाडौंका सचिव तथा कार्यक्रमका संयोजक अनिल रत्न तुलाधारले नेपालमात्रै नभएर भारत, बंगलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराईरहेको सुनाए ।

उनले भने,‘हामीले नेपालबाट रगत दान गरिसकेका छौं । हाम्रो संस्थाकै समकक्षी भारतीय संस्थाहरुको सहयोगमा रगत उपलब्ध गराउने काम भैरहेको छ। यो खुशीको कुरा हो ।’ त्यस्तै उनले आफूहरुले भाईवर, ईमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले रगत आवश्यक भएमा ‘+९७७–९८५१०–२६६४०’ मा उल्लेखित सामाजिक सञ्जालमार्फत जोडिन आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् कार्यक्रमका विशेष अतिथि ऋषि धमलाले राष्ट्रपतिले नै अब विशेष समारोह तथा राष्ट्रिय महत्वका कार्यक्रममा बोलाएर सबैभन्दा बढि रक्तदान गर्नेहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

धमलाले आफूले पनि रक्तदानबारे विभिन्न मिडियामार्फत बहस तथा अन्तरक्रिया चलाउने घोषणा गरे । उनले भने,‘म आज यस महत्वपूर्ण कार्यक्रममार्फत आज एउटा प्रण गर्न चाहन्छु, अब म क्लबमा पनि रक्तदानबारे बहस तथा अन्तरक्रिया चलाउँछु, म सरोकारवालाहरुसँग लगातार बहस चलाउँछु।’ धमलाले क्लबको यही चैत्र १७ गते मनाउने २१ औं वार्षिकोत्सवको अवसरमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरे ।

त्यस्तै कार्यक्रममा हांस्यकलाकार श्रीकृष्ण सिंखडाले सरकारले रक्तदान कार्यक्रमबारे त्यति ध्यान नदिएकोमा गुनासो पोखे । उनले भने,‘राज्यले अब रक्तदानबारे पनि विशेष ध्यान दिनुपर्छ । अहिले महत्व नदिएकोजस्तो मलाई लागेको छ, यस्ताखाले कार्यक्रमको प्रचार–प्रसारमा सरकारले पहलकदमी लिनुपर्छ ।’

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं शाखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘रोटरी, लायन्सजस्ता विभिन्न संघ/संस्थाहरुको सहयोगबाट सम्पन्न कार्यक्रमबाट रगतको तत्कालिन व्यवस्थापनमा सहयोग पुर्याउन सफल भएको जानकारी गराउँदछौं ।’

कार्यक्रममा ब्लोदान केन्द्रिय सदस्य खेम मरासिनीले पनि आफ्नो कुरा राखेका थिए । कार्यक्रमको सञ्चालन ब्लोदान काठमाडौं शाखाका सदस्य जनक कुमार खड्काले गरेका थिए ।

ब्लोदान विगत तीन दशकदेखि नेपाल सरकारद्धारा निर्दिष्ट गरिएको राष्ट्रिय नीतिको राष्ट्रव्यापी कार्यान्वयनसहित राष्ट्रिय रक्त कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाईटीलगायत सरोकार पक्षहरुसँग सहकार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्