Logo

‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन’ : मन्त्री बाँस्कोटा



काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आइतबार संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उहाँले डिजिटल माध्यमलाई व्यवस्थित गर्न सो विधेयक ल्याएको स्पष्ट पारेका हुन् ।

मन्त्री बाँस्कोटाले भने,“सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न होइन, नेपाललाई डिजिटल हस्ताक्षरको विकास गर्ने र जीवनमा सहज ल्याउने हिसाबले ल्याएको हो ।” उनले विद्युतीय र इन्टरनेटको साइबर बुलिङ, साइबर अपराधलाई निरुसाहित गर्ने, विद्युतीय माध्यममा प्रयोग गर्ने अश्लीलता रोक्न सो विधेयक ल्याइएको बताए ।

उनले सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गरिने व्यवस्था पनि सो विधेयकमा रहेको उल्लेख गरे । उनले थपे,“नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नुपर्छ, ।”

सो विधेयकका विषयमा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी र अधिवक्ता सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गर्दैै विधेयकमा रहेका प्राविधिक पक्षमा स्पष्ट पारेका थिए । समाजका अध्यक्ष नारायण काफ्ले र मञ्चका अध्यक्ष विश्वास रेग्मीले सूचना प्रविधि विधेयकमा छलफलमा आएका सुझावलाई लिपिबद्धरुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विकास तथा प्रविधि समितिमा बुझाउने जानकारी र्दिए । सो विधेयक विकास तथा प्रविधि समितिमा छलफलका क्रममा छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडटकम



प्रतिक्रिया दिनुहोस्