काठमाडौं, ४ चैत । फुल्हमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा लिभरपुल २–१ ले विजयी भयो ।
खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत् निर्णायक गोल गरे । यसअघि, सादियो मानेको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएपनि रायन बाबलको गोलमार्फत् फुल्हमले खेल बराबरी गरेको थियो ।
आइतबार राति नै भएको अर्को खेलमा चेल्सीलाई एभर्टनले २–० ले हराएको छ । आफ्नै मैदानमा एभर्टनलाई विजयी गराउन रिचार्लिसन र जिल्फी सिगुर्डसनले एक/एक गोल गरेका थिए ।
हारपछि चेल्सीले अंकतालिकाको चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगमा ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ । ६० अंकसहित आर्सनल चौथो स्थानमा रहँदा ५८ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौं तथा ५७ अंकसहित चेल्सी छैटौं स्थानमा छ । एजेन्सीको सहयोगमा