Logo

ओली सरकार असफल, राजसंस्था अपरिहार्य : झा



काठमाडौं, ४ चैत्र । आजाद जनता पार्टी (आजपा) का केन्द्रीय अध्यक्ष प्रा. सुबोध नारायण झाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै प्रा. झाले यस्तो टिप्पणी गरेका हुन् । उनले सिके राउत र सरकारबीच हालै भएको सहमति स्वागतयोग्य रहेको बताए । यद्धपी उनले उक्त सहमति दुवै पक्षले ईमानदारीताका साथ पालना गरे मुलुकको लागि धेरै राम्रो हुने विश्वास दिलाए।

राजपाले समर्थन फिर्ता लिनु वा समर्थन जारी राख्नुले कुनै अर्थ नराख्ने पनि उनको भनाई छ । उनले भने,‘राजपाले समर्थन फिर्ता लिनुको कुनै औचित्य नै छैन । राजपाको नीति नै प्रष्ट छैन । कस्तो कुरामा समर्थन गर्ने वा विरोध गर्ने भन्ने उसको कुनै नीति स्पष्ट छैन । राजपाको कुराको ठेगान छैन । म यसमा धेरै टिप्पणी गर्न चाहन्न ।’

त्यस्तै उनले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अवसरवादी नेताको रुपमा चित्रण गरे । उनले भने,‘उपेन्द्र यादव अवसरवादी नेता हुन्, त्यही भएर अहिले मधेशी जनता अन्यौलमा छन् ।’

उनले राष्ट्रिय एकतालाई बलियो बनाउन र हिन्दूराष्ट्रको स्थापनाको लागि आफ्नो पार्टीले सशक्त कार्यक्रमहरु अघि सार्ने पनि जानकारी दिए । यद्धपी उनले आफूहरु सक्रिय राजतन्त्रको पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘हामी सक्रिय राजतन्त्रको पक्षमा नभएपनि राजसंस्था भने अहिलेपनि आवाश्यक छ ।’ राष्ट्रिय एकताको प्रतीकको रुपमा राजसंस्था अपरिहार्य रहेको झाको भनाई छ ।

अध्यक्ष झाले गणतन्त्र र संघीयता नेपाल र नेपाली जनताको एजेण्डा नै नरहेकोले तत्काल खारेज गर्नुपर्ने माग गरे । उनले सरकारले विकास निर्माण, सुशासन र समृद्धिको काम गर्नुपर्नेमा अन्य कुरामा बरालिन नहुने धारणा राखे । उनले थपे,‘सरकारको यो एक वर्ष असफल भयो ।’



प्रतिक्रिया दिनुहोस्