काठमाडौं ७ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार सुरु भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हकिन्स अस्पतालमा सोमबारदेखि उपचार सुरु भएको सीतासँगै गएकी छोरी गंगाले जानकारी दिइन् । ‘मंगलबारबाट विस्तृत उपचार सुरु भएको छ’ उनले अमेरिकाबाट टेलिफोनमा भनिन्, ‘डाक्टरले उपचारका लागि चार, पाँच दिन लाग्ने बताएका छन् ।’
सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पालसाइ (पीएपी) रोग देखिएको छ । अध्यक्ष दाहाल पनि पत्नीको उपचारका लागि अमेरिका भ्रमणमा छन् । उनी १० दिनपछि स्वदेश र्फकने कार्यक्रम छ ।
गंगाले उपचारमा संलग्न डाक्टरले रोग सुधार हुने आश्वासन दिएका छन् । सीताको उपचार भएरहेको हकिन्स अस्पताल अमेरिकाको राम्रोमध्येमा पर्छ । ‘आमाको स्वास्थ्य सुधार हुने डाक्टरले भनेका छन्’ गंगाले भनिन्, ‘सबै रिपोर्ट आएपछि अझ स्पष्ट हुनेछ ।’ यसअघि सीताको उपचार सिंगापुरमा भएको थियो । छोरा प्रकाशको निधन भएपछि सीताको रोग बल्झेको थियो ।अमेरिका भ्रमणमा रहेका दाहालले वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा गएर अन्तर्क्रिया गरेका थिए । कान्तिपुरबाट