Logo

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना



संयुक्त राष्ट्रसङ्घ,१० चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गर्नुभएको छ,” राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको बताइएको छ । “महासचिवले उक्त घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी उक्त जघन्य आक्रमणमा सम्लग्नलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गर्नुभएको छ,” हकले बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ, “उहाँले मृतकका परिवार तथा आपन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।” त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्राप्त सूचना अनुसार बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइका लागि भएको विवादमा आक्रमण हुने गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot