Logo

धमला दम्पत्तिद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि तीन लाख सहयोग हस्तान्तरण



काठमाडौं, ११ चैत्र । पत्रकार ऋषि धमला र उनकी धर्मपत्नी नायिका एलिजा गौतमले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सोमबार काठमाडौंमा रहेको ‘धुर्मुश–सुन्तली’ फाउण्डेशनको कार्यालयमै पुगेर धमला दम्पत्तिले उक्त रकम हस्तान्तरण गरेका हुन् । नायिका गौतमको जन्मोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरिएको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

धमलाले संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हामीलाई चाहिएको छ । यो आवश्यकत्ताको विषय हो । चितवनमा धुर्मुश–सुन्तलीले जुन किसिमको साहस देखाएर निर्माण कार्यमा जुट्नुभएको छ । यो गौरवको विषय हो । यो आँफैमा पुण्य काम हो । हामी सबै नेपालीहरुले दिल खोलेर सहयोगी हातहरु अघि बढाउनुपर्छ । यो राष्ट्रको गौरवको विषय हो ।’

धुर्मुश–सुन्तलीले पत्रकार धमला दम्पत्तिको सहयोगले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । सिताराम कट्टेल ‘धुर्मुश’ ले थपे,‘पत्रकारिता जगतबाट यसरी सहयोग गर्न कोही पनि आउनुभएको थिएन । ऋषिजी पहिलोपटक आउनुभयो । उहाँको सहयोगलाई हामीले सिँगो पत्रकारिता जगतको सहयोगको प्रतिनिधित्वको रुपमा लिएका छौं । हामी निकै खुशी छौं ।’

त्यस्तै, नायिका गौतमले पनि आफू धुर्मुश–सुन्तलीको कामबाट धेरै पहिलेदेखि नै प्रभावित बन्दै आएकोले आज आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्,‘जन्मोत्सवमा फजुल खर्च गर्नुको साटो सहयोग गर्नु राम्रो हो, यो परियोजना हामी सबै नेपालीहरुको गौरवको विषय हो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।’



प्रतिक्रिया दिनुहोस्