Logo

मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना



काठमाडौं १२ चैत । पश्चिमी वायुको प्रभावले साेमबार मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

साेमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू-भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रि-मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्