पोखरा, १२ चैत । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् ।
समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ ।समितिमार्फत् देशको विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन् ।