Logo

प्रहरी र विप्लव समूहबीच गोली हानाहान



काठमाडौं १३ चैत । अछाममा प्रहरी र विप्लव समूहका कार्यक्रताबीच दोहोरो गोली हानाहान भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनको झाँतामा उनीहरू बीच हिजो (मंगलबार) गोली हानाहान भएको हो ।

विप्लव समूहलाई खोज्दै गाउँ पसेको प्रहरी टोलीमाथि सुरुमा विप्लव समूहका कार्यर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रतिकार गर्ने क्रममा प्रहरीले ६ राउन्ड गोली चलाएको थियो ।

गोली चलाएपछि अधिकांसश विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भागेका छन् भने ४ जनालाई नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताउनुभयो ।

स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा विप्लव समूहको अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउँद र राजेन्द्र धामी तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका भुमिसरा धामी छन् ।

गोली हानाहानमा विप्लव निकट नेकपाका जिल्ला इन्चार्ज शेरबहादुर बिश्वकर्माको खुट्टामा चोट लागेको बताइएको छ । विप्लव समूहका कार्यकर्ता हतियारसहित गाउँ पसेको थाहा पाएपछि तीन दिन अघिदेखि प्रहरीले उनीहरूलाई पिछा गरिरहेको थियो ।

बाटुलासैनका स्थानीय पुष्प विष्टका अनुसार २०÷२५ जनाको सङ्ख्यामा आएका विप्लवका कार्यकर्ता दोहोरो फायरिङपछि अधिकांश भागेका छन् ।

झाँता गाउँका स्थानीयका घरमा खाना खाइरहेको बेला प्रहरीको गस्ती गाउँ पुगेको थाहा पाएपछि नेकपाका कार्यकर्ताले गोली चलाउन थालेका थिए । तर प्रहरीले जवाफी फायरिङ गरेपछि विप्लव समूहका कार्यकर्ता तितरबितर भएका थिए ।



प्रतिक्रिया दिनुहोस्