Logo

प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ



स्याङ्जा, १४ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधँै सहयोग गर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले पौरख गर्न चाहने किसानका लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पाँच वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकार पहिलो पटक स्थापना भएकाले शून्य अवस्थाबाट काम गर्नु परेकाले सरकारले जग बसालिसकेको र अब जनताले काम देख्ने गरी सरकारले काम गर्ने पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कृषि र पर्यटनका माध्यमबाट जनतालाई बढीभन्दा बढी रोजगारी दिने अभियानका साथ अगाडि बढेको धारणा व्यक्त गर्नुभयो ।

स्याङ्जाको मालुङ्गामा स्थापना गरिएको यो कार्यालयले प्रदेशभित्र भित्रिने अखाद्य वस्तुमा रोक लगाई गुणस्तरीय वस्तु मात्रै भित्रिने भएकाले आम जनताले स्वस्थ्य वस्तुको उपभोग गर्न पाउने बताउँदै उहाँले राजनीतिक लडाइँ सकिएको र अबको लडाइँ भनेको विकास र समृद्धिको लडाइँ भएको हुँदा यसलाई पूरा गर्नकै लागि जनताले कम्युनिष्ट पार्टीलाई जिताएकाले जसरी पनि विकास गर्नैपर्ने चुनौती थपिएको विचार व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि एवं सहकारीमन्त्री लेखबहादुर थापाले मन्त्रालयले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेशको सीमामा कार्यालयको स्थापना गरिएको र अहिले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिए पनि अर्को वर्षदेखि कार्यालयको भवन निर्माण कार्यको शुरुआत गरिने बताउनुभयो । गल्याङ नगरपालिकाले कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो ।

आजबाट सञ्चालनमा आएको सो कार्यालयमा कृषि र पशु गरी सात जना कर्मचारीको दरबन्दी रहेको मन्त्रालयले जनाएको छ । कार्यालयको स्थापना भएसँगै गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण भएर मात्रै भित्रिने भएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्