काठमाडौं, १४ चैत । सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ। मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन्।
सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उनले उल्लेख गरे।
उनले भने, ‘नेपाली सेना सरकार मातहतको निकाय हो। सरकारले लिने निर्णय प्रति न उसको कहिले विमति छ, न रहन्छ। नेपालको लामो इतिहास छ। उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फलो गर्दै आएको छ। कहानेर अन्तरविरोध देख्नुभयो। वा अन्तरविरोध चर्काउन कसैले प्रयत्न गर्यो ति कुराहरु सत्य होइन। गलत हो।’
नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्दर्भमा सैनिक प्रवक्ताको हवाला दिएपनि कसैले किटानीका साथ नभएको उल्लेख गरे। उनले भने, ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन।’