Logo

छिमेकी फकाउँदै चीन



काठमाडौं १७ चैत । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो।

अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ।

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’

चिनिया“ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’

चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहँुच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ।

छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ।

चीनले हरेक दिन विश्वका कुनाकुनाबाट सरकारी पाहुनाका रूपमा दुई सयभन्दा बढी कर्मचारी, पत्रकार, व्यापारी निम्त्याउने गरेको छ। यसरी बोलाइएका पाहुनालाई विश्वविद्यालयमा बहस गराउने र विभिन्न प्रान्तको भ्रमण गराउँदै आएको छ। ती पाहुनामार्फत चीनले आफ्नो धारणा विश्वमा फिँजाउँदै आएको छ। यसले स्पष्ट हुन्छ चीन अब विश्व बजारको प्रतिस्पर्धामा मात्र होइन, राजनीतिमा पनि अग्रसर भइरहेको छ।

विश्वमा रेल हिमालमाथिबाट वा मुनिबाट गुडाउने भन्ने प्रश्न उठिरहेका बेला चीनले दुवै स्थानबाट सम्भव भएको जबाफ दिएको छ। चीनले हिमालमाथि रेल दौडाएको छ। रेलमार्गले हरेक पहाड छेडेको छ।

विकासका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने बताएको चीनले अब दक्षिण एसियालाई विशेष चासो दिन थालेको छ। चीनले हिमालपारि रेलको सपना बाँडिरहेको छ। रेलबाटै छिमेकी भारत र पश्चिम एसियाको बजार खोजेको चिनियाँ अधिकारी स्वीकार्छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot