काठमाडौं १९ चैत । पथलैया–वीरगन्ज सडकखण्डको चैनपुर चोकस्थित विष्णु मन्दिरमा सधैंझैं आइतबार साँझ पनि पूजा सकेर घर जाने तरखरमा थिए लक्ष्मी पटेल । अचानक हावाहुरीसहित पानी पर्न थाल्यो ।
हुरी विस्तारै तीव्र हुँदै गयो । पटेल मन्दिरबाट निस्कन लाग्दा हुरीले सडकमा रोकिराखेको पिकअप भ्यान पल्टायो । परवानीपुर गाउँपालिका–४ का पटेलले भने, ‘आइतबारको आँधी पहिलेजस्तो थिएन, गाडीलाई समेत पल्टायो । डरसँगै अचम्म लाग्यो, हावा नाचिरहेको थियो ।’
त्रिभुवन राजमार्गमा आधा दर्जन बस, मोटरसाइकलसमेत उनले पल्टिएको देखे । करिब डेढ मिनेट वितन्डा मच्चाएर हुरी अगाडि बढेपछि पटेल घरतर्फ दौडिए । चैनपुर चोकको पश्चिममा रहेको नारायणी मोडर्न पल्सेज उद्योगका महाप्रवन्धक सुनील शर्मा हुरी आउँदै गर्दा बाहिर रहेका दाल गोदाममा राख्न लगाउँदै थिए । ‘केही समयभित्रै कल्पना नै गर्न नसक्ने अवस्था आयो,’ उनले भने, ‘यस्तो त हलिउडका फिल्ममा मात्र देखेको थिएँ ।’ –कान्तिपुर दैनिकबाट