काठमाडौं २२ चैत । भुमरीसहितको हुरीले फुसको घर तहसनहस पारेपछि मीनादेवी बिनको आठजनाको परिवार विगत चार दिनदेखि प्लास्टिकको बोराको पालमा रात बिताइरहेको छ। बुधबार दिउँसो टन्टलापुर घाम लागेका बेला पालमुनि भेटिएकी मीनादेवीले भनिन्, ‘ मेरो हातमा एउटा त्रिपाल पनि परेको छैन। घरभित्र पुरिएको यही थोत्रो बोरा टाँगेर बालबच्चा राखेकी छु।’
हुरीले सबैभन्दा बढी भौतिक क्षति पुर्याएको भरवलिया गाउँमा मंगलबारदेखि नै दाताहरूले त्रिपाल, झुल, म्याटलगायत राहत सामग्री बाँडिरहेका छन्। तर मीनदेवी र उनको परिवारमा बुधबार अपराह्नसम्म एउटा त्रिपाल पनि पुग्न सकेको छैन।
गाउँमा आउनेले सडक छेउछाउका पीडितलाई मात्रै राहत बाँडिरहेका कारण भित्री टोलका पीडितको हातमा राहत पुग्न नसकेको हो। हुरीले सडक छेउछाउका भन्दा भित्री टोलका घरमा बढी क्षति पुर्याएको छ। भित्री टोलमा पुग्ने बाटो साँघुरो भएका कारण राहत बोकेर आउने गाडी चोकमै रोकिने गरेकाले मीनादेवी जस्ता थुप्रै पीडित राहतबाट वञ्चित छन्। ‘राहत बोकेको गाडी गाउँमा छिर्न नपाउँदै बाटो आसपासका बासिन्दा तँछाडमछाड गरेर पुगिहाल्छन्’, मीनादेवीले भनिन्, ‘हामी गाडीसम्म पुग्न नपाउँदै भीडले गाडी रित्याइसकेको हुन्छ।’
मीनादेवीकै छिमेकी ललितादेवी बैठाको परिवार तीन दिनदेखि तन्ना टाँगेर बनाइएको पालमुनि रात गुजार्न बाध्य छ। ‘चोकमा राहतको गाडी आउनेबित्तिकै गाउँलेको हारालुछ हुन्छ। त्यो भीडमा गएर धकेलाधकेल गर्न मनै लाग्दैन’, ललितादेवीले भनिन्, ‘राहत बाँड्न आउनेहरूको आँखा हाम्रो टोलमा पर्न सकेको छैन।’
उनीहरू खाना भने चोकमा विभिन्न संस्थाले चलाएको मेसमा खान्छन्। उनले भनिन्, ‘खाना मेसमा गएर खान्छौं। सुत्न–बस्न भने यहीं तन्नाको पाल सहारा बनेको छ।’ जिल्ला प्रशासन कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ भरवलियामा मात्रै हुरीले एक सय ३० घरमा पूर्ण रुपमा क्षति भएका छन्। ६० घरमा आंशिक क्षति पुगेको छ। स्थानीय बासिन्दाले भने भरवलिया गाउँमा तीन सयभन्दा बढी घर तहसनहस भएको बताए।
भरवलिया गाउँमा घरबारविहीन भएकाका लागि राहत बाँड्नेको भीड बुधबार बिहानैदेखि लागेको थियो। चिउरा, भुजा, चाउचाउ, बिस्कुट, फ्रुटीलगायतका खाद्यान्न गाडीमा बोकेर देशका विभिन्न जिल्लाबाट दाता आउने क्रम जारी छ। यस्तै घरबारविहीन भएकालाई दाताले त्रिपाल, म्याट, झुल, जस्तापाता बाँडिरहेका छन्।
यसरी वितरित खाद्यान्न र अस्थायी पुनर्वासका राहत सामग्री गाउँका चोक र सडक छेउछाउमै केन्द्रित भएको छ। स्थानीय श्रीलाल मुखिया बिनले आफ्नो परिवारले राहतका नाममा चिउरा र बिस्कुट मात्रै पाएको बताए। उनले भने, ‘मैले त्रिपाल, झुल केही पनि पाएको छैन। बोल्न सक्नेका तीनतीनजनाले त्रिपाल र झुल ल्याएका छन्।’
पुरेनिया गाउँमा भने पीडितका लागि नेपाली सेनाले टेन्टको अस्थायी घर बनाइदिएको छ। भरवलियामा भने नेपाली सेना पुगेको छैन। राहत वितरणमा एकद्वार प्रणाली नअपनाइएका कारण सबै पीडितले समान रूपमा राहत पाउन नसकेका हुन्।
फेटा गाउँपालिका– १ का वडाध्यक्ष जयप्रकाश दासले राहत वितरण व्यवस्थित हुन नसकेको बताए। एकद्वार प्रणाली अपनाएर राहत वितरण व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो उनको छ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकारे। दातालाई जिल्ला विपत् व्यवस्थापन समितिमार्फत राहत वितरण गर्न आग्रह गरेको उनले जानकारी दिए।
प्रदेश सभामा शोक प्रस्ताव
प्रदेश सभा बैठकले बारा र पर्सामा आएको भुमरीसहितको हुरीबतासमा परी ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा मृतकलाई श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ। बैठकले घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।
एकद्वार प्रणालीबाट राहत संकलन माग
प्रदेशसभाको बुधबारको बैठकमा सांसदहरूले एकद्वार प्रणालीबाट राहत संकलन गरी समानुपातिक रुपमा वितरण गर्न माग गरेका छन्। नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘विपत्का बेला विभिन्न संघसंस्था र निकायबाट प्राप्त राहत एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ।’
घाइतेको उपचारका लागि संघीय सरकार र प्रदेश सरकार दुवैले निःशुल्क हुने घोषणा गरे पनि हालको अवस्थामा कसले जिम्मेवारी लिने प्रस्ट हुन नसक्दा उपचारमा समस्या आइरहेको उनको भनाइ थियो। उनले भने, ‘उपचारका विषयमा संघ र प्रदेश सरकारबाट प्रस्ट निर्देशन आउनु जरुरी छ।’ संघीय समाजवादी फोरमका बच्चा यादवले सही तथ्यांक संकलन गरी समानुपातिक रुपमा राहत वितरण गर्न माग गरे। अन्नपूर्णपोष्टबाट