Logo

इजरायली प्रधानमन्त्री रुस भ्रमणमा



जेरुसेलम, २१ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिहीबार मस्कोको भ्रमणमा जानुभएको छ । मस्कोमा उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने जनाइएको छ ।

इजरायलबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उहाँले रुसका राष्ट्रपति पुटिनसँग युद्धग्रस्त देश सिरियामा दुई देशबीच चलिरहेको विशेष सैनिक समन्वय विषयमा पनि छलफल हुने बताउनुभयो । इजरायल र रुसले सिरियामा जारी द्वन्द्व समाधानका लागि पहल गरिरहेका छन् ।

रुसले सिरियाका राष्ट्रपति बसर अल असद र उनी समर्थित सैनिकलाई समर्थन गर्दै आएको छ । इजरायली हवाई सैनिकले इरानी र हेज्बुल्लाह लडाकू समूहहरुलाई लक्ष्य गरी सिरियाका विभिन्न स्थानमा हवाई आक्रमण गर्दै आएको छ ।

गत फेबु्रअरी २७ मा पनि पुटिन र नेतान्याहुबीच भेटवार्ता भएको थियो । केही महिनायता यी दुई नेताबीच बारम्बार टेलिफोन वार्ता हुँदै आएको छ । गएको सोमबार पनि यी दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।

इजरायलमा हुन गइरहेको आम निर्वाचनको पाँच दिन मात्र अगाडि सो भेटवार्ता हुन लागेको हो । इजरायली प्रधानमन्त्री नेतान्याहु पाँचौं कार्यकालका चुनावी मैदानमा हुनुहुन्छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्