Logo

राजापा-फोरम एकता कागजमै कुदयो, कागजमै रोकियो



काठमाडौं २४ चैत । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण पत्रमै सीमित भएको छ । एकताका लागि दुवै दलले पत्र अदान–प्रदान गरे पनि अहिलेसम्म यसबारे एकपटक पनि वार्ता गरेका छैनन् ।

दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा आआफ्नो दलमा छलफल गरी पत्र आदान–प्रदान गरे पनि यसबारे दुवै दलले एकपटक पनि वार्ता गरेका छैनन् । एकअर्कालाई पत्र लेख्दै दुवै दलले एकीकरणका लागि सकारात्मक रहेको र छिट्टै एकता टुंगो लगाउन पहल गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले दुई दलका बीचमा पत्र आदान–प्रदान भए पनि एकीकरणकै लागि वार्ता नभएको बताए । दुवै दल एकीकरणका लागि सकारात्मक रहेको बताउँदै उनले छिट्टै वार्ता पनि हुने बताए ।

‘हामीबीच पत्र आदान–प्रदान भएको छ, हामीले फेरि अर्को पत्र लेख्दै राजपालाई पठाएका छौं, त्यसको जवाफ आएको छैन,’ अधिकारीले भने, ‘पत्रको जवाफ पनि आएको छैन, बारा–पर्सामा हावाहुरीको विपद्ले प्रभावितको उद्धार र व्यवस्थापनमा पार्टी लागेकाले पनि वार्ता हुन नसकेको हो ।’

दुवै दलबीच छिट्टै वार्ता हुने बताउँदै उनले अहिले फोरम नेपालको महाधिवेशन र हावाहुरीपीडितको उद्धार तथा व्यवस्थापनमा जुट्नुपरेकाले वार्ता हुन नसकेको बताए ।

दुवै दलले दुई/दुईपटक लिखित पत्र लेख्दै एकीकरणको सुरुवात गरे । फोरम नेपालले पुनः अर्को पत्र लेख्दै वार्ता प्रक्रियालाई अघि बढाउन आग्रह गरेको छ । उपमहासचिव अधिकारीका अनुसार पुनः लेखिएको पत्रको जवाफ पनि अहिले नपाएको बताए ।

राजपा नेपाल अहिले प्रमुख प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्तासाझेदार दल हो । यद्यपि दुवै दल संयुक्त उम्मेदवारी दिई पछिल्लो निर्वाचनमा सहभागी भएका थिए । प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार छ ।

तर, फोरम नेपाल संघीय सरकारमा सहभागी छ भने राजपा प्रतिपक्षी दलको भूमिकामा रहेको छ । संसद्देखि सडकसम्म राजपाले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सरकारको कडा आलोचना गर्दै संघर्ष गरिरहेको छ । तर, फोरम नेपाल संघीय सरकारमा सहभागी भएकाले सदनदेखि सडकसम्म सरकारको प्रतिरक्षा गर्दै अघि बढिरहेको छ ।

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले एकीकरणका लागि पत्र आदान–प्रदान भए पनि वार्ता हुन नसकेको स्वीकार गरे । अहिले एकीकरणका लागि दुवै दल पत्र आदान–प्रदानमै सीमित भएको उनले बताए । वार्ता गरेर अघि बढाउनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।

‘एकीकरणका लागि दुवै दल सकारात्मक नै छ, अब वार्ता पनि छिट्टै हुन्छ,’ उपाध्यक्ष मण्डलले भने, ‘दुवै दलका बीचमा पत्र आदान–प्रदान भएर प्रक्रिया अघि बढेको छ, छिट्टै नै निष्कर्षमा पनि पुग्छौं ।’

राजपा नेपालका उपाध्यक्ष मण्डलले दुवै पार्टीका बीचमा एकीकरणका लागि छलफल सुरु भएको बताउँदै एकता प्रक्रिया पनि छिट्टै नै टुंगोमा पु-याउने बताए । दुवै दलले आ–आफ्नो तर्फबाट वार्ता टोली गठन गरिसकेको बताउँदै एकता घोषणा छिट्टै गर्नेमा आशा जागेको बताए ।

राजपा नेपालले अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतोको संयोजकत्वमा र फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । तर दुवै दलका वार्ता टोलीका बीचमा एकीकरणका लागि छलफल हुन सकेको छैन ।

राजपा नेपाल र फोरम नेपालका शीर्ष नेता अहिले बारा–पर्साको हावाहुरीप्रभावित क्षेत्रमा उद्धार, व्यवस्थापन, राहत जुटाउने काममा व्यस्त रहेका छन् । अर्कोतर्फ राजपा नेपालले वार्ता अघि बढाउन फोरम नेपालले संघीय सरकारबाट फिर्ता हुनुपर्ने संकेत गरेकाले समेत वार्ता हुनमा ढिलाइ भएको हो ।



प्रतिक्रिया दिनुहोस्