Logo

विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने: उपराष्ट्रपति



ललितपुर, २७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उहाँले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औँलाउनुभयो । नेपाली जनतामा छोटो समयमा नै खुशी र सुखी हुन पाइयोस् भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका यी अपेक्षा पूरा गर्नका लागि सङ्घीय सरकारसँगै स्थानीय सरकार र प्रदेश सरकार पनि लाग्नुपर्छ ।”

सरकारको समृद्धिको नारा साकार बनाउन नेपालमा पर्याप्त स्रोत भएको उपराष्ट्रपति पुनले औँल्याउनुभयो । भ्रष्टचार र अनियमितता देशको प्रमुख समस्याका रुपमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भ्रष्टाचार कम हुन नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको छ । उहाँले भन्नुभयो, “भ्रष्टचारकै कारण अहिले विकासका लागि छुट्याइएको बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का नेता पम्फा भुषालले यस क्षेत्रमा पर्यटनको विकास गर्न आवश्यक भएको बताउनुभयो । पर्यटनको विकासले यहाँका उत्पादनको बजारिकरणको समस्या समेत हल हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र दुबै मिलेर लाग्नुपर्छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर सङ्कलनका लागि सङ्घले महानगरपालिकालाई सहयोग गर्नुपर्ने बताउनुभयो । विश्व कला परिषद्ले ललितपुरलाई कला नगरी घोषणा गर्नु यहाँको विकासका लागि महत्वपूर्ण भएको उहाँले प्रष्ट पार्नुभयो ।

सङ्घले वर्षेनी सङ्घको स्थापना दिवसको अवसरमा मेलाको आयोजना गर्दै आएको अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्मै प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष पनि मेलालाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्