Logo

तेस्रो संस्करणको मिस नेवाः हुने, विजेताले स्कुटी पाउने



विराटनगर, ५ वैशाख । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत प्रदान गरिने बताउनुभयो । प्रतियोगिताका सहभागीलाई एवं विजेतालाई रु पाँच लाख बराबरको बीमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।

आगामी शनिबारदेखि विराटनगरबाट नामाङ्कन शुरु गर्ने तथा धरानमा वैशाख १४ र दमकमा वैशाख २१ गते अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिनुभयो । विभिन्न चरणको छनोट कार्यक्रममा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्