Logo

प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना



काठमाडौँ, ५ वैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ ।नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गर्नुभएको हो ।विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ ।

सो अवसरमा महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवासुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्,” उहाँले भन्नुभयो । उहाँले व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

महानिरीक्षक खनालले प्रहरी अस्पताललाई अरू अस्पतालभन्दा उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न मन, वचन र कर्मले काम गर्न सबै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिनुभयो ।

अस्पतालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा–पर्सामा भर्खरै गएको हावाहुरीबाट घाइते जनताको उपचार, काठमाडौँका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी र नेपाल प्रहरीका आश्रित परिवारलाई उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारण जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विसं २०७४ चैतदेखि २०७५ फागुनसम्म एक लाख ५१ हजार ७२६ प्रहरी कर्मचारी, प्रहरी कर्मचारीका आश्रित परिवार र सर्वसाधारणलाई उपचार गरेको जनाएको छ ।

प्रहरी अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।यस्तै अस्पतालले वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वार्षिकोत्सव पूजा र बिरामीलाई फलफूल वितरणसमेत गरेको डा पाठकले जानकारी दिनुभयो ।

नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले अस्पतालका प्रमुख डा थापालाई अस्पतालमा प्रयोग हुने तन्ना र तकियाको खोल प्रदान गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले प्रदान गरेको रु एक करोड ५० लाखको थैली अस्पतालका प्रमुख डा थापालाई हस्तान्तरण गर्नुभयो ।

उहाँले अस्पतालबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘आरोग्य दर्पण–२०७५’ को विमोचनसमेत गर्नुभयो । अस्पतालमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्