Logo

गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित



काठमाडौँ, ५ वैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ ।

सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उहाँहरुलाई सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो ।यो कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उहाँको भनाइ छ । गृहमन्त्री थापाले भन्नुभयो, “विकास र समृद्धिको लक्ष्य सरकारले लिएको छ, यसका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ गम्भीर सबै गम्भीर भएर लाग्नुपर्छ ।”

गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आव २०७३÷७४ र आव २०७४÷७५ मा ६३ दशमलव शुन्य तीन प्रतिशत रकम फछ्र्यौट गरेको छ । कूल रु चार अर्ब ३० करोड ९७ लाखमध्ये रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्र्यौट भएको छ ।

यस्तै नेपाल प्रहरीको आव २०७३÷७४ सम्मको बेरुजु रु ६८ करोड ४१ लाखमध्ये ८५ दशमलव १४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।

बेरुजु फछ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फछ्र्यौटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रानुसार उहाँहरुलाई गृह मन्त्रालयले सम्मान गरेको हो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot