Logo

अबको मिसन विकास र समृद्धिः मुख्यमन्त्री शाही



सुर्खेत, ५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताउनुभएको छ । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको मिसन विकास, समृद्धि र सुशासन हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले समृद्ध प्रदेश र मुलुक बनाउने कामको शुरुआत आफैबाट गर्नुपर्ने भन्दै त्यसको लागी महत्वपूर्ण भूमिका सञ्चारमाध्यम र सञ्चारकर्मीको हुने बताउनुभयो । जनतामा सकारात्मक सोचको भावना पैदा गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री शाहीको भनाइ छ । आम पाठकले सत्य र आधिकारिक समाचारका लागि सरकारी सञ्चारमाध्यमको बाटो हेरिरहेको भन्दै पाठकको विश्वास गुम्न नदिन गोरखापत्रलाई सुझाव दिनुभयो । जनविश्वासलाई गुम्न नदिन गोरखापत्रले सबैको विश्वास जितेर आवाज विहीनको आवाज बन्नुपर्ने बताउनुभयो ।

अबका दिनमा स्वर्णिम इतिहास बोकेको गोरखापत्रले नयाँ नेपालको विकास, समृद्धि र सुशासनका पक्षमा बहस गर्नुपर्नेमा जोड दिनुभयो । “नकारात्मक सोचले विरोध गर्ने, आलोचना बढी हुने अवस्था रहेको छ, अब त्यसको अन्त्यका लागि सकारात्मक सोचको आवश्यकता छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीले विरोध र आलोचना होइन संघर्ष गर्ने संस्कारको विकास गर्न गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सत्य र तथ्य समाचारका लागि त्यसको गहिराइमा पुग्नुपर्ने बताउनुभयो । गोरखापत्रले पहुँचको आधारमा नभई गरीब र निमूखाको आवाजको प्रतिनिधित्व गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

गोरखापत्रलाई समयानुकूल नयाँ र ऊर्जाशील बनाउनुपर्ने भन्दै उहाँले आधिकारिक समाचारका लागि गोरखापत्र नै मुख्य आधार भएको उल्लेख गर्नुभयो । समृद्ध प्रदेश बनाउनका लागि गोरखापत्रले कर्णाली प्रदेशलाई प्राथमकिता दिनुपर्ने पनि उहाँको भनाइ छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले पाठक र समयको मागलाई ध्यानमा राख्दै समयानुकुल पुनसंरचना गरी थप विकास गरिने जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेश समाचारको खानी भएकाले समाचारदातालाई सक्रिय भएर समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । अध्यक्ष भण्डारी साथै गोरखापत्रले सधै सत्य र विश्वसनीयतालाई कायमै राख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सुर्खेत उपत्यका नगरविकास समितिका अध्यक्ष नारायण कोइराला, गोरखापत्रका प्रधान सम्पादक, गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनाल, दि राइजिङ नेपालका प्रधानसम्पादक जगदीश पोख्रेल, गोरखापत्रका प्रदेश समाचार ब्यूरो प्रमुख गोकर्ण अर्याल, नेपाल भाषाभाषी पृष्ठ संयोजक कुमार विवेकानन्द, गोरखापत्रका योजना विभाग प्रमुख तारा बस्यालको सहभागिता थियो । शुक्रबारसम्म सञ्चालन हुने प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका समाचारदाता र विभिन्न भाषाभाषिका स्तम्भकारको उपस्थिति छ ।रासस



प्रतिक्रिया दिनुहोस्