Logo

समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने



विराटनगर,७ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी गराइयो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताउनुभयो । समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिनेछ भन्नुभयो ।
अधिवेशन सम्पन्न गर्न रु १२ लाख खर्च हुने जनाइएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्